नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।

निर्वाचनको दौडधुपमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार एकाएक नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरे । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणको तयारीमा रहेको बेला प्रचण्डले दिएको यो अभिव्यक्ति केवल काँग्रेसलाई तर्साउनका लागि मात्र होइन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा कम्युष्टिहरुलाई एक बनाउने मनासायले गत निर्वाचनमा नै एमाले र माओवादीलाई मिलाएको चीनले पुन: निर्वाचन नजिकिएसँगै वाम एकता गराउने कसरतमा जुटेको हो ।
विहीबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका प्रचण्डले सोही दिन बुटबल पुगेर एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए । काँग्रेसका केही नेताहरुले अन्य दलसँग कुनै पनि हालतमा चुनावी तालमेल हुन नसक्ने अतिवादी खालका अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै प्रचण्डले त्यसो हो भने चुनावी गठबन्धनबारे परिस्थितिमा बदलाव आउन सक्ने स्पष्ट पारे । प्रचण्डको यो अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेस आन्तरिक छलफलमा छ ।
त्यसो त प्रधानमन्त्री देउवाले पटक पटक आफ्ना नेताहरुलाई गठबन्धन र चुनावी सहकार्यका बारेमा जथाभावी अभिव्यक्ति नदिन आग्रह गर्दै आएका थिए । गठबन्धनबीच चुनावी तालमेल नभए फेरि कम्युनिष्टहरु मिल्न सक्ने बुझेका देउवा पार्टीको आन्तरिक वातावरण मिलाउन व्यस्थ रहेकै बेलामा प्रचण्डले एमालेसँग सहकार्यको सम्भाव्यताबारे अभिव्यक्ति दिएपछि र चिनियाँ नेताहरुले नेपालमा कम्युनिष्ट एकता गराउन सक्रिए भएपछि नेपाली राजनीतिमा काँग्रेस एकाएक रक्षात्मक बनेको छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनेझै एमाले र माओवादीका केही नेताहरु भने पुनः वाम एकता गराउन कम्मर कसेर लागि परेका छन् ।
एकतामा नआए एमालेलाई पुनः फुटाइने
नेकपा माओवादी केन्द्रका एक नेताले नाम गोप्य राख्ने शर्तमा चीनले वाम एकताको लागि एमाले तयार नभए पुनः एमाले फुटाउने तयारीमा जुटेको बताए । उसले डा। भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुलाई माओवादीमा प्रवेश गराउने र निर्वाचनमा माओवादीसहित एकीकृत समाजवादी र जसपालाई पनि एक बनाउने रणनीति लिएको छ । एमालेसहितको वाम एकता हुन नसकेको अवस्थामा सम्भव भएजतिका कम्युनिष्टलाई एक बनाउने र निर्वाचनमा काँग्रेससँगको सहकार्यलाई निरन्तरता दिने तयारी पनि छ ।
एमालेले अध्यक्ष केपी ओलीले आफ्नो चाहना विपरित नेकपा विघटन गराएको र एमसीसीमा अमेरिकाको पक्षपोषण गरेको भन्दै ओलीसँग चीन रुष्ट रहेको छ । चीन एकता नचाहे निर्वाचनमा एमालेलाई एक्ल्याएर बदला लिन चाहन्छ । तर एमसीसीमा अन्तिमसम्म लडेको भन्दै प्रचण्डलाई चीनले ढाडस दिने गरेको छ । चीनको यहि साथबाट उत्साहि भएका प्रचण्डले पछिल्लो दिनहरुमा काँग्रेसलाई धम्क्याउँदै आएका छन् ।
सहकार्य पनि नगर्ने र कम्युनिष्टलाई मिल्न पनि नदिने काँग्रेसको रणनीति
यता कम्युष्टिहरुलाई कुनै पनि हालतमा मिल्न नदिने रणनीतिमा रहेको नेपाली काँग्रेस निर्वाचनमा पनि सकेसम्म सहकार्य नगर्ने मनस्थितिमा छ । कम्युनिष्टहरु एक्लाएक्लै निर्वाचनमा होमिए आफूलाई निकै नै फाइदा हुने बुझेको काँग्रेसले प्रचण्डलाई आश्वासन दिने तर भर नदिने गरी अघि बढिरहेको छ । तर चीनको दवावमा प्रचण्डले एमालेसँग सहकार्य हुन सक्ने बताएपछि भने काँग्रेसमा ठोस सहमतिका साथ निर्वाचनबारे निर्णय लिनुपर्ने बाध्यता आएको छ । मिलौ निर्वाचनमा घाटा, नमिलौं वाम एकता भएर पत्तासाफ हुने डर, यतिवेला प्रचण्ड काँग्रेसको लागि ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएका छन् ।।

