नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । आज (शुक्रबार) भएको पेसीसूचीमा रहेकाे सो मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । सो रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी बुधवार हुनेछ ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता समृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । आज अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति गरेका थिए । रिट निवेदनमा संविधानको मर्म विपरीत अध्यादेशमार्फत संसदीय सुनुवाइसमेत नगरी गरिएका नियुक्तिहरू खारेज गर्न माग गरिएको छ । । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।