मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । दैलेख, आठविस नगरपालिका-३ जास्की बस्ने ३४ वर्षीय जीवन कार्की सोही नगरपालिका-१ स्थित कर्णली नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । गत फागुन २८ गतेदेखि घरबाट हराइ वेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त किनारमा शव फेला परेको हो ।

त्यस्तै नवलपरासी(पश्चिम), सरावल गाउँपालिका-३ गोईनीस्थित सडकमा रामग्राम नगरपालिका-८ घनश्यामपुर बस्ने ४५ वर्षीय गोबरी चमार शनिबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइलास्थित टहरामा बस्ने हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय मिलन कार्की सोही टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै दोलखा, भिमेश्वर नगरपालिका-४ जिलु जंगलमा सोही नगरपालिका-६ बस्ने बिगु गाउँपालिका-७ घर भएका ६३ वर्षीय छिनर्वु शेर्पा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गत मंगलबारदेखि हराइ वेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता पाल्पा, रामपुर नगरपालिका-८ आपचौरस्थित कालीगण्डकी नदीमा स्याङ्जा गल्याङ नगरपालिका-१ मालुङगा घर भएका ६० वर्षीय मान बहादुर बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । रम्भा गाउँपालिका-१ हुँगी बस्ने उनकै दाजुसँग भेटघाट गरी आफ्नो घर हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

त्यसैगरी झापा, मेचीनगर नगरपालिका-८ स्थित निन्दा खोलाको किनारमा बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय गोपाल कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, इटहरी उपमहानगरपालिका-५ शान्ती टोल बस्ने ६८ वर्षीय नेत्र भण्डारी सोही ठाउँस्थित सुकुमारी खोलाको पानीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित याम्दी खोलामा सोही ठाउँस्थित हेम्जा मानव सेवा आश्रममा बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-८ घर भएका ४६ वर्षीय श्रीप्रसाद गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, भिमाद नगरपालिका-३ माझकोट पिपल भन्ज्याङ बस्ने ४६ वर्षीया यम कुमारी थापा घर नजिकैको कुवामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । कुवामा पानी लिन गएकी उनको शव फेला परेको हो ।

यता सप्तरी, महादेवा गाउँपालिका-१ सोनरा बस्ने डम्बर नारायण यादवको छोरा ९ वर्षीय कमल यादव घरभित्र सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार