
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । आज (सोमबार) बसेको पार्टीको पोलिटब्यूरो बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले उनले अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको दावी गरे । ओलीले निर्वाचन आयोगका आयुक्तको नियुक्ति बदर गरेर निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको बताए । ओलीले भने ‘अझै पनि कलात्मक ढंगले, षड्यन्त्रपूर्ण रुपमा निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोग र सत्तारूढ गठबन्धनबीचमा छलफल भइरहेको छ ।’
ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे । ‘निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुँदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुँदैनभन्ने गरी षड्यन्त्र भइरहेको छ ।’

