नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ चैत्र ।

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल हेरफेरको तयारीमा जुटेका छन् । कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरूलाई पदमुक्त गरेर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पनि सहमत भएपछि देउवा मन्त्रिमण्डल विस्तारको तयारीमा जुटेका हुन् । चार दलको तर्फबाट कम्तिमा पनि ८ मन्त्रीलाई फिर्ता बोलाउने र नयाँलाई नियुक्ति दिने गठबन्धनको तयारी छ ।
निर्वाचनको मुखमा मन्त्रीहरूको कार्यसम्पादन कमजोर हुँदा जनतामाझ राम्रो सन्देश नगएकोले गठबन्धन मन्त्रीहरू हेरफेरको तयारीमा जुटेको हो । गठबन्धनमा रहेका दलहरू केही मन्त्रालय पनि हेरफेर गर्न सहमत भएको बताइन्छ । निर्वाचनलाई मध्यनजर राखी गृह, अर्थ र परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयमा पनि नेतृत्व परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री लागेका छन् ।
नेपाली काँग्रेसको कोटामा परेको दुई मन्त्रालय खाली छ । महाधिवेशनमा पराजित भएपछि मीनेन्द्र रिजालले राजीनामा दिएपछि रक्षा मन्त्रालय खाली छ । त्यसैगरी महाअभियोगपछि पदमुक्त बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भागवाट उद्योगमन्त्री बनेका गजेन्द्र हमालले विवादपछि राजीनामा दिएकोले सो मन्त्रालय पनि खाली रहेको छ । यी दुबै मन्त्री काँग्रेसबाट नै बन्नेछन् ।
यी मन्त्रीहरू पदमुक्त हुँदै
यसअघि उर्जामन्त्री हुँदा चौतर्फी वाहीवाही कमाएका अर्थमन्त्री जनार्दन शर्मा यतिवेला चौतर्फी आलोचित बन्ने गरेका छन् । अर्थ मन्त्रालय सञ्चालन गर्न नसकेको आरोप उनीमाथि छ । त्यसैले देउवाले प्रचण्डलाई जनार्दन शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउन दवाव दिएका छन् । साथै देउवाले माओवादीलाई परराष्ट्र मन्त्रालय दिने शर्तमा अर्थ मन्त्रालय काँग्रेसले लिने र हालका परराष्ट्रमन्त्री नारायण खड्कालाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । यता परराष्ट्रमा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई पठाउने तयारी गरेको छ । श्रेष्ठले उपप्रधानसहित परराष्ट्रको जिम्मेवारी सम्हाल्ने सहमति माओवादीमा जुटिसकेको बताइन्छ । माओवादीले शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई पनि सरकार फिर्ता बोलाएर नयाँलाई अवसर दिने तयारी गरेको छ ।
देउवाले गृहमन्त्री पनि फेर्ने तयारी गरिरहेको स्रोतको दाबी छ । बालकृष्ण खाडलाई फिर्ता बोलाएर उनले उपप्रधानसहित प्रकाशमान सिंहलाई गृहमन्त्री बनाउने तयारी गरेका छन् । चारै दलबाट एक–एकजना शीर्ष नेता उपप्रधाससहित सरकारमा सहभागी हुने भएपछि नेता सिंह सरकारमा जान राजी भएको बताइन्छ । त्यस्तै खाली रहेको एक मन्त्रालयमा सुजता कोइरालालाई जिम्मेबारी दिइने भएको छ ।
यता एकीकृत समाजवादीबाट शहरी विकाशमन्त्री रामकुमारी झाक्रीलाई सरकारबाट फिर्ता बोलाउने निश्चित भएको छ । कार्यसम्पादन कमजोर भएको भन्दै उनलाई पार्टी संगठन विस्तारमा जिम्मेबारी दिने माधव नेपालको तयारी छ । समाजवादीबाट महासचिव वेदुराम भुसाललाई उपप्रधानसहित एक आकर्षक मन्त्रालयको जिम्मेबारी दिइने भएको छ । पार्टीबाट मन्त्री रहेका प्रेम आले र किसान श्रेष्ठको कार्यसम्पादन सन्तोषजनक रहेकोले निरन्तरता दिने अध्यक्ष नेपालको तयारी भएपनि स्वस्थ्यमन्त्री विरोध खतिवडाको ठाउँमा मेठमणि चौधरीलाई पठाउनेबारे पार्टीमा छलफल भइरहेको बताइन्छ ।
जसपाले पनि कम्तिमा दुई मन्त्री हेरफेर गर्नेमा समर्थन जनाएको बताइन्छ । तर को कसलाई फिर्ता बोलाउने र कसलाई जिम्मेबारी दिने भन्ने विषयमा जसपाले भने निर्णय गरिसकेको छैन । दलहरूले तयारी टुंग्याएमा आगामी साताभित्र मन्त्रिमण्डल हेरफेर गरिसक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

