बागमती प्रदेशसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

बागमती प्रदेशसभा बैठक बोलाइएको छ । आज(मंगलबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए।



उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन् । त्यस्तै बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो ।

आज बस्ने प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारले योजना बनाएको प्रदेश खनालले बताए । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना छन् ।

सम्बन्धित समाचार