
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।
भेटमा स्थानीय तहको निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताएका छन् । बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको परियारले बताए । भेटमा छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपाङ्ग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए ।
प्रचण्डले प्रधानमन्त्री देउवालाई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ संशोधन, कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताको सूचीकृत गर्ने विषय, गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र, परिवारलाई मासिक जीवन निर्वाह भत्ता लगायतका बुँदामा ध्यानाकर्षण गराएक थिए । स्थानीय तहको निर्वाचको मिति नजिकिएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको हो । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।

