
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धादिङ, धुनिबेशी नगरपालिका-२ सेरोफाँट बस्ने ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा गएराति मृत अवस्थामा फेला परेकी छिन् । अर्ध शरीर जलेको अवस्थामा उनको शव परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जीवनपुर र इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-९ बसपार्कस्थित गेष्ट हाउसमा विगत ५/६ महिनादेखि बस्दै आएका ललितपुर घर भएको ७० वर्षीय लोक बहादुर बिष्ट नाम गरेको पुरूष आफू सुत्ने खाटमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता इलाम, इलाम नगरपालिका-८ स्थित डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-४ चिलिङदिन घर भएका ५५ वर्षीय टिका नेम्वाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-१० सुतैया बस्ने ५० वर्षीया हिरा चौधरी आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा गहुँ बारीमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता सप्तरी, रुपनी गाउँपालिका-५ मुसरनिया बसपिटी गाउँस्थित पोखरीमा सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद अंसारुल सोमबार मृत अवस्थामा फेला परेका छन् । नरिवलको डोरीले बाँधिएको अवस्थामा उनको शव फेला परेको हो ।
यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-१० सक्रहवास्थित रोहिणी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
