नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । आज (शुक्रबार) विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन् । वाङलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा.नारायण खड्का त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
विमानस्थलबाट उनी बत्तीसपुतलीस्थित होटल द्वारिका पुगेका छन् । उनी त्यहीं बस्ने छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयले उनको भव्य स्वागतको गरेको थियो । गृहमन्त्रालयले वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । वाङले औपचारिक भेटघाट भने भोलि शनिबारदेखि मात्रै गर्नेछन्। उनी बिहान साढे ६ बजे शिवपुरीमा हाइकिङ जाने छन् ।
नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग उनले द्विपक्षीय भेट गर्नेछन् । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने छ । चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नेछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।

