नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ चैत ।

आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ३० वर्षकी श्रीमती अस्मिता चौधरी सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
शरीरको विभिन्न भाग जलेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।
