चिनियाँ विदेशमन्त्रीको भ्रमण : नौ वटा समझदारीदेखि राजनीतिक भेटघाटसम्म

तीनदिने नेपालको भ्रमणपछि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । अधिकांश समय राजनीतिक भेटघाटमा व्यस्त रहेका चिनियाँ विदेशमन्त्रीको भ्रमण सफल मान्न सकिन्छ । नेपालबाट अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन भएलगत्तै भएकों चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई चिनियाँ अधिकारीहरू स्वयं अप्रत्याशित भएको बताउँछन् । चिनियाँ विदेशमन्त्रीको यस भ्रमणलाई नेपालको लागि उपयोगी र दुबै देशको हितमा रहेको मान्न सकिन्छ ।

भ्रमणको क्रममा चिनियाँ विदेशमन्त्री सहित १९ सदस्यीय टोलीका बीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षार भएको थियो । त्यस्तै नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनीभूत तुल्याउन दुवै देश सहमत पनि भएका छन् । गत चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।



के छन् नौ वटा समझदारीमा ?
शनिबार काठमाडौंमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा नौ वटा समझदारी भएको थियो । नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्ने सम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण
चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गर्ने काम पनि सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी थिए । सोही अवसरमा चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ ।

राजनीतिक भेटमा व्यस्त यी
तीनदिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले राजनीतिक भेटघाटलाई भने तीव्रता दिएका थिए । शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका विदेशमन्त्रीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

देउवासँगको भेटमा के भयो कुराकानी ?
प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शनिबार भेटवार्ता भएको थियो । भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा चीन सरकारको सहयोगमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण समेत भएका थियो ।

राष्ट्रपति र चिनियाँ विदेश मन्त्री यीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शितल निवासमा भेटवार्ता भएको हो । भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श समेत भएको जानकारी प्राप्त भएको छ । राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

ओलीले गरे चिनियाँ विदेश मन्त्री वाङसँग यस्तो आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीआरआईसँग सम्बन्धित परियोजना अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् । आइतबार नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता भएको थियोे । अध्यक्ष ओली चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटल मेरियट पुगेका थिए । भेटवार्तामा अध्यक्ष ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईलगायतका नेताहरू सहभागी रहेका थिए ।

भेटवार्तामा ओलीले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका थिए । भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रूपमा फर्कने वातावरण बनाइदिन आफूहरूले आग्रह गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।
यस्तै कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिंदै तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको र एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताएको जानकारी गराएका थिए ।

प्रचण्डसँगको भेटमा के भयो कुराकानी ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि चिनियाँ विदेशमन्त्री वाङ यीलाई मुख्य रूपमा बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अगाडि बढाउन अनुरोध गरेको बुझिएको छ । आइतबार नक्सालस्थित होटल मेरियटमा प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको थियो ।

सम्बन्धित समाचार