नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी ४ बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार राति करिब ८ः३० बजे धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल दुर्घटना भएको हो ।
ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याए पनि चार जनाको मृत्यु भएको बस्नेतले बताए । दुर्घटनामा परी घाइते भएका सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

