नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रामेछाप, मन्थली नगरपालिका-१ बसपार्कमा रामेछाप नगरपालिका-२ देउराली बस्ने ४८ वर्षीय बोध बहादुर बस्याल सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बाँके, कोहलपुर नगरपालिका-५ बेलनपुर बस्ने सल्यान कुमाख गाउँपालिका-४ घर भएका १६ वर्षीय हिम बहादुर खत्री बेलनपुरस्थित किरणनाला खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।
त्यसैगरी बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बजारस्थित डेरामा बस्ने ७१ वर्षीया तुलसा भण्डारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता रोल्पा, सुनिलस्मृती गाउँपालिका-३ रोईनिवाङस्थित लुङ्ग्री खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

