
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एक किलोको ढकसँग तुलना गरेका छन् । आज (बुधबार) भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनलाई ढकसँग तुलना गरेका हुन् ।
कार्यक्रमा बोल्दै ओलीले गठबन्धनलाई ५ किलोको ढक भए पनि र एमाले भने एक क्विन्टलको ढक रहेको टिप्पणी गरे । उनले गठबन्धन गर्न सजिलो नभएको भन्दै चुनावमा एमालेसँग लड्न कुनै पार्टीले नसक्ने प्रस्ट पारे । ‘एमाले एक क्वीन्टलको ढक हो । सत्ता गठबन्धन भनेका एक एक किलोको ढक जस्ता हुन्’ ओलीले भने ।
‘गठबन्धन गर्छौं भनेका हुन्, सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ? ओलीको प्रश्न छ । उनले निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको भन्दै आरोप लगाए । ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि’ ओलीले भने, ‘एक हप्ता गराएपनि के हुन्छ ? मनोनयन नै हुन्छ ।’

