सत्तारुढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्तारुढ गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले भने ;’बैठकले निर्वाचनको लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्नेछ ।’



त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको बताए । यस्तै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू मिलेर जाने निर्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । नेपाली काँग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरूप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो ।

बैठकमा गठबन्धनका नेताहरूले प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्न समेत आग्रह गरेका थिए । अब सत्ता साझेदार दलको अर्को बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

 

 

 

 

 

सम्बन्धित समाचार