सच्चिन तयार रहेको भन्दै सहकार्यको प्रस्तावसहित प्रचण्ड र माधवलाई ओलीको फोन, चीनको दवावपछि मिलनको बाटोमा कम्युनिष्टहरू

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य गर्ने निर्णय गरेपछि वाम एकताको सम्भावना सकिएको अड्कल काटिएको थियो । तर राजनीतिक घटनाक्रम अड्कल काटेअनुसार अघि बढेको देखिँदैन । सत्ता गठबन्धन एक भए एमालेको भविष्य डामाडोल हुने बुझेका ओली हदैसम्मको लचक भएर वाम एकताको प्रस्ताव अघि बढाएको स्रोतको दाबी छ । ओली आफैंले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेर सहकार्य गर्न तयार भए आफू एक कदम पछि हट्न तयार रहेको सन्देश छोडेको बताइन्छ ।

ओलीले फोन नै गरे सहकार्यको लागि लचक हुन तयार रहेको बताएपछि प्रचण्डले विहीबार मात्र काँग्रेसले भागबण्डामा सम्मानजनक हैसियत नदिएमा एमालेसँग सहकार्य हुन सक्ने बताएका थिए । प्रचण्ड एमालेसँग सहकार्यको लागि तयार रहे पनि माधव नेपालले भने काँग्रेससँगै सहकार्य गरेर ओलीलाई साइजमा ल्याउनुपर्ने दवाव प्रचण्डलाई दिइरहेका छन् । तर तीनै कम्युनिष्ट पार्टीका दोस्रो तहका नेताहरूले वाम एकतामा जोड दिएकोले स्थानीय निर्वाचनअघि नै सत्ता गठबन्धन टुट्न सक्ने देखिन्छ ।

कम्युनिष्टलाई मिल्न चीनको दवाव
गत सातामात्र तीन दिने नेपाल भ्रमण गरेका चिनियाँ स्टेट काउन्सिलर वाङ यीले नेपालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गरेर स्वदेश फर्किएका थिए । एमसीसी पास गर्न काँग्रेसले लिएको अडानबाट रूष्ट बनेको चीन बीआरआईमा बेवास्था गरेपछि जसरी पनि देउवा सरकार ढाल्न चाहन्छ । साथै कम्युनिष्टहरूलाई एक बनाएर काँग्रेसको राजनीतिक हैसियत कमजोर बनाउने रणनीति चीनको छ । यसका लागि चीनले कम्युनिष्टहरूलाई मिल्न दवाव दिइरहेकै थियो ।

यता हालै चीन भ्रमणमा रहेका नेकपा एमालेका नेता विष्णु पौडेल र माओवादी केन्द्रका नेता देव गुरूङलाई चीनले स्थानीय निर्वाचन अगावै वाम एकताको पहल गर्न निर्देशन दिएको बताइन्छ । चीनको सन्देश पाएपछि ओलीले वाम एकताको अपेक्षासहित प्रचण्ड र माधवलाई फोन गरेको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई चुनावी सहकार्यको मात्र होइन, प्रधानमन्त्रीको पनि आश्वासन दिएको बताइन्छ । सम्भव भए स्थानीय निर्वाचनपछि र त्यो सम्भव नभए निर्वाचनपछि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाउने ओलीको प्रस्ताव छ । ओलीले प्रचण्डसँग भेटेरै वार्ता गर्ने वातावरण बनाउन दोस्रो तहका नेताहरूलाई खटाएको
बताइन्छ ।

निकटसँग प्रचण्डले भने– ओलीको कसरी विश्वास गरौं ?
पार्टी एकता भइसकेको अवस्थामा झण्डै दुई तिहाइको सरकार र पार्टी तहस नहस गरेको भन्दै प्रचण्डले आफू निकटका नेताहरूसँग फेरि ओलीलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न उठाउने गरेका छन् । ओलीका कुरामा विश्वास लाग्नै छोडेको भन्दै सम्भव भएसम्म काँग्रेससँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेका छन् । साथै माधव नेपाल पनि फेरि ओलीसँग मिल्न तयार नभएकोले स्थानीय निर्वाचनमा काँग्रेससँगै सहकार्य गर्नुपर्ने र सो निर्वाचनमा काँग्रेसको भूमिका हेरेर वाम एकताको बारे सोच्न सकिने प्रचण्डले बताउँदै आएका छन् । तर चीनको लगातार दवाव र दोस्रोे तहका नेताहरूको हस्तक्षेपका कारण स्थानीय निर्वाचन अघि वाम एकता हुने वातावरण नबन्ला भन्न नसकिने राजनीतिक विश्लेषकहरू दाबी गर्छन् ।।

सम्बन्धित समाचार