नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत्र ।
सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको बैंकले जनाएको छ ।
विज्ञप्तिअनुसार सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुङ्गा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस– डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोलाबहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशन प्रमुख विजयराम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्राण्ड एम्बेसडर सन्दीप क्षेत्रीलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य हुने कुरा बताएका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा लैजानु पर्ने बताएका थिए ।
बैंकले आफ्नो ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरूमा क्युआर कोडलाई अझ सशक्त रूपमा देशव्यापी रूपमा लैजाने र आगामी दिनहरूमा पनि यस्तै खालको सेवाहरू ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराएका थिए ।