नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।

स्थानीय निर्वाचन नजिकिएसँगै नेपालका राजनीतिक दलहरू चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । वैशाख ३० गते सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्था छ । यस्तोमा नुवाकोटको ककनी गाउँ पालिकामा पनि चुनावी माहोलले तीव्रता पाएको छ । ककनी गाउँ पालिकामानेपाली काँग्रेस, नेकपा माओवादी ,नेकपा एमाले, नेकपा एकिकृत समाजबादी र राप्रपा चुनावी मैदानमा भिड्ने भएका छन् ।
चुनावलाई मध्येनजर गर्दै केन्द्रीय नेतादेखि जिल्ला तथा प्रदेशका नेताहरु चुनावी अभियानलाई तीव्रता दिन धमाधम गाउँ छिर्न थालेका छन् । विगतमा गुमेको सांख फर्काउन यसपाली नेपाली काँग्रेस कम्मर कसेर लागेको बुझिन्छ । अन्य पार्टीसँगको प्रतिस्पर्धामा काँग्रेसले आफूलाई बलियो जनमतमा उभ्याएको छ । यसअघिको निर्वाचनमा माओवादीले जितेको ककनीमा यस पटक काँग्रेसले लोकप्रिय मत हासिल गरी बिजय हुने अनुमान लगाउन सकिन्छ ।
तर, गठबन्धनको तालमेलले टिकट कसले पाउने ? भन्ने कौतुहलता आम कार्यकर्तामा छ । गठबन्धनले कार्यकर्ताको उत्साहमा कमि मात्र ल्याएको छैन, ठूलै हलचल पैदा गरेको छ । यसै मेसोमा चैत्र २१ गते नेपाली काँग्रेसको ककनी गाउँ पालिका स्तरीय बैठकले गठबन्धनमा नजाने निर्णय गरेको अध्यक्ष भाग्यश्री लामा बताउँछन् । बैठक सभापति भाग्यश्री लामाको अध्यक्षतामा बसेको थियो । यस्तोमा ककनी गाउँ पालिकामा पनि अध्यक्षमा प्रतिस्पर्धी उम्मेदवारहरुको होडवाजी चल्न थालेको छ । जसमा नेपाली काँग्रेसबाट ७ जना उम्मेदवार मैदानमा उत्रन लागेका छन् । काँग्रेस गुट उपगुटबाट गाजिएको अवस्थामा टिकटको लागी आ-आफ्नो प्यानलमा लबिङ्ग शुरु भइसकेको जानकारहरु बताउँछन् ।
अध्यक्षमा प्रतिस्पर्धी उम्मेदवारहरुमा ऋषि कुमार तामाङ्ग, भाग्यश्री लामा ,नवराज घिमिरे, श्रीराम ढुङ्गाना, बिष्णु गुरुङ्ग ,दिपेश लामा राजन नेगी लगायत रहेका छन् ।
को हुन् ऋषि कुमार तामाङ्ग ?
तामाङ्ग पेशाले एक पर्यटन व्यवसायी हुन् । उनी बिगत लामो समय देखी पर्यटन क्षेत्रको साथै समाजसेवा र राजनीति क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य समेत भइसकेका तामाङ्ग १४ औं महाधिवेशनमा क्षेत्र नं १ प्रदेश ‘ख’ का सभापतिका प्रत्यासी पनि हुन् । तामाङ्ग केसी प्यानल निकट हुन् ।
को हुन् भाग्यश्री लामा ?
ककनी गाउँ पालिकाको अध्यक्ष प्रतिस्पर्धी लामा नुवाकोटको जनजाती संघको अध्यक्ष रहेका छन् । उनी मिलनसार र सरल व्यक्तित्वमा गनिन्छन् । केसी प्यानल निकट लामा ककनी गा.पा.को पार्टी सभापति पनि हुन् । १२ औ महाधिवेशनको माहासमिती सदस्य समेत भएका लामा ४६ को जनआन्दोलनका घाइते पनि हुन् ।
को हुन् नवराज घिमिरे ?
घिमिरे, ककनीका युवा नेतामा परिचित नाम हो । नेपाली काँग्रेस नुवाकोटका जिल्ला कार्यसमिती सदस्य रहेका घिमिरे प्रकाश शरण महत निकट मानिन्छन् ।
को हुन् श्रीराम ढुङ्गाना ?
केसी प्यानलबाटै अध्यक्षका उम्मेदवार ढुङ्गाना काँग्रेसको एक पुरानो नेताको रुपमा परिचित छन् । कांग्रेसको १४ औं माहाधिवेशनमा उनी केन्द्रय माहाधिवेशन प्रतिनिधिका प्रत्यासी थिए । यसअघि प्रकाश शरण महत प्यानलमा झुकाब भएको ढुंगाना त्यहाँबाट राजनितीमा भविष्य नदेखेपछि उनी केसी प्यानलबाट माहाधिवेशन प्रतिनिधिमा भिडेका थिए ।
को हुन् विष्णु गुरुङ्ग ?
नुवाकोटकै स्थानीय नेतामा परिचित विष्णु काँग्रेसको १३ औं माहाधिवेशनमा जिल्ला कार्यसमिती सदस्य भएका थिए । काँग्रेस नेता गुरुङ्ग १४ औं माहाधिवेशनमा भने क्षेत्रिय प्रतिनिधि बनेका थिए । उनी पनि केसी प्यानलसँग नजिक रहेको बुझिन्छ ।
को हुन् दिपेश लामा ?
प्रकाशरण महत निकट लामा पेशाको हिसाबमा निर्माण व्यवसायी हुन् । यसअघिको स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी लामा हाल कांग्रेसको जिल्ला कार्यसमिती सदस्य हुन् ।
को हुन् राजन नेगी ?
अध्यक्षका अर्का प्रत्यासी नेगी पनि केसी प्यानल निकट मानिन्छन् । नेगी पेशाले कृषि कार्यमा आवद्ध छन् । काँग्रेसको १४ औं माहाधिवेशनमा नेगी क्षेत्रिय प्रतिनिधि भएका थिए ।

