नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।


अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बुधबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता शाहविरुद्ध जिल्ला अदालत तनहुँले पनि यसअघि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । पलविरुद्ध अर्को मुद्दामा पनि थुनामा राख्ने आदेश भएको हो ।
पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा उजुरी परेको थियो । त्यस्तै अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । नाबालिग गायिकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् ।
अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको आरोप लागेको छ । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । पलविरुद्धको जाहेरी पुष्टि भएमा उनलाई १० देखि १२ वर्षसम्म सजाय हुनेछ ।
