नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-१२ बस्ने जगदिश ठाकुरको सेप्टी ट्याङ्की भित्र सोही नगरपालिका-१२ गम्हरिया बस्ने जितेन्द्र ठाकुरको छोरा १० वर्षीय मिठु ठाकुरको बिहीबार शव फेला परेको हो ।
गाउँमा छटिहारको भोज खान जान्छु भनी हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त सेप्टी ट्याङ्की भित्र प्लाष्टिकको बोरामा उनको शव फेला परेको हो । घटनामा शंकास्पद ७ जनालाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै डोटी, दिपायल सिलगढी नगरपालिका-६ र ७ को सिमानास्थित गोरेटे बाटोमा सोही नगरपालिका-७ रातुली बस्ने ४५ वर्षीय लाल बहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै उदयपुर त्रियुगा नगरपालिका-१३ वहेडुवा बस्ने ७२ वर्षीया सुक्रिदेवी चौधरी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

