स्थानीय चुनाव सार्ने दाउमा गठबन्धन

 

स्थानीय चुनावको मिति नजिकिएसँगै सत्ता गठबन्धन दलहरूले निर्वाचन सार्ने तयारी थालेको बुझिएको छ । चुनावमा गठबन्धन कायम गर्दै जाने भनिए पनि एकपछि अर्को समस्याहरू आउने निश्चित भएपछि गठबन्धन दलहरू चुनाव धकेल्ने तयारीमा लागेका हुन् ।



स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक गर्नेबारे बालुवाटारले घनीभूत छलफल थालेको छ । निर्वाचन सार्ने पक्षमा यस अघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमत जनाई सकेका छन् । प्रचण्ड र नेपालले विगतमा पनि स्थानीय, प्रादेशिक र संघीय संसदको चुनाव एकैपटक गर्नेबारे छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले पनि यस विषयमा आफू सकारात्मक रहेको सङ्केत दिएका थिए ।

तर गठबन्धन गरेर निर्वाचनमा जाँदा काँग्रेसभित्र निकै ठूलो हलचल पैदा हुने देखिन्छ । गठबन्धन गर्दा टिकट नपाउनेहरूको सङ्ख्या बढ्ने र त्यसले काँग्रेसमा ठूलो असन्तुष्टि पैदा गर्ने निश्चित जस्तै हुने भएपछि पार्टी निर्णयविपरीत विद्रोह हुनसक्ने सम्भावनाको आँकलन गररे देउवा चनाखो बनेका छन् । गठबन्धन हुने निश्चितजस्तै भएपछि केही काँग्रेसका नेताहरू स्वतन्त्र रूपमा उम्मेद्वारी दिने वा अन्य दलहरूबाट उम्मेद्वार बन्ने तयारीमा लागेको बुझिएको छ ।

काँग्रेसभित्रका असन्तुष्ट पक्षहरूलाई एमाले र राप्रपाले आफ्नो पार्टीमा भित्र्याउने दाउ हेरेर बसेका छन् र सम्भवतः विद्रोही काँग्रेसीहरूबाट स्थानीय चुनावमा यी दुई पार्टीहरू नै बढी लाभान्वित हुनसक्ने छन् । राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसमा टिकट नपाउनेहरूलाई आफ्नो पार्टीमा ल्याएर टिकट दिने रणनीतिमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि काँग्रेसमा टिकट नपाउनेहरूलाई पार्टीमा भित्र्याउने र टिकट दिने रणनीतिमा हुनसक्छन् । यसो भएमा काँग्रेसमा ठूलै भुइँचालो जाने रिपोर्टहरू बालुवाटार र सानेपामा पुगेको स्रोत बताउँछ । यसकारण पनि गठबन्धन दलहरू आवश्यक व्यवस्थापनका लागि स्थानीय चुनाव पछि धकेल्ने तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार