नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् । बिहीबार नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर काँग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गरे । ‘दलबीचको एकता अहिलेको आवश्यकता हो’, उनले भने, ‘अवस्था अप्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरुबीच गठबन्धन र तालमेल गर्न लागिएको हो ।’
स्थानीय तहको निर्वाचनमा दलबीच हुने तालमेलले पार्टीबाट उम्मेदवार सङ्ख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकाङ्क्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उनको भनाइ छ । पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरी समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उनले निर्देशन दिए ।
देशमा पछिल्लो समयमा बढिरहेको इन्धन र खाद्य सामग्रीको मूल्य वृद्धि नेपालको पहुँचबाहिर अर्थात् अन्तर्राष्ट्रिय प्रभावका कारण भएकाले यसलाई रोक्न स्वदेशी सामग्रीको उपभोग बढाउन उनले सुझाव दिए ।

