नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएका थिए । मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडै रहेका छन् । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।
उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । दुर्घटनाबाट घाइते भएका मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्कीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य छ ।

