नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा घिमिरेले ४४ सय ३३ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटमा प्रतिद्वन्दी विष्णुमणि अधिकारीले भने २४ सय ८२ मत प्राप्त गरे । घिमिरिले अधिकारीलाई लगभग दोब्बर मतले पराजित गरेका हुन् । त्यस्तै एसोसिएसनको महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेका थिए ।
यसैगरी बारको कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । उनले चार हजार ३६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरे । गठबन्धनका तर्फबाट चुनाव लडेका अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । यस्तै अधिकारी भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।

