नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले बैठकमा स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको बताए । उनले भने, ‘निर्वाचन सम्बन्धमा संयुक्त वक्तव्य आज, भोलि नै जारी हुन्छ ।’ त्यस्तै बैठकले कुनै पनि हालतमा बैशाख ३० को चुनाव नसर्ने बताएको छ । गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपनि जिल्लाहरुमा सहमति जुटाउन वक्तव्य जारी गर्न लागेको हुन् ।
सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको भन्दै एक नेताले विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको आरोप लगाए । बैठकमा गठबन्धनका तर्फबाट देशभरिका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी टुंगो लगाउनेबारे सामान्य कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काँग्रेस नेता रामचन्द्र पौडेललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

