विश्वप्रकाश शर्मामाथि देउवाको बेवास्ता कि प्रतिशोध ?

स्थानीय चुनावमा नेपाली काँग्रेस पार्टीका नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रममा समान अवसर नदिएको भनी पार्टीभित्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको टिकाटिप्पणी हुन थालेको छ । १४ औं महाधिवेशनबाट पुनः सभापति बनेका देउवाले उपसभापति धनराज गुरूङ र महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारीमा विभेद गरेको काँग्रेसी नेताहरू नै बताउँछन् ।

स्थानीय चुनाव र गठबन्धनको तालमेलमा व्यस्त रहेका नेताहरूमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाई एकपछि अर्को जिम्मेवारी दिएका देउवाले पछिल्लो समय उपसभापति धनराज गुरूङ्क र महामन्त्री विश्वप्रकाश शर्मालाई बाइपास गरेकोमा नेताहरू असन्तुष्ट बनेका छन् । सभापति देउवाका राइट ह्याण्ड बनेका खड्काप्रतिको झुकाव स्वाभाविकै भए पनि महामन्त्री थापालाई जिम्मेवारी दिनेमा उनले उदारता देखाइरहेका छन् । अघिल्लो कार्यकालमा प्रवक्ता बनाएर विश्वास पात्रमा राखेका शर्मालाई भने महामन्त्री बनेपछि देउवाले बाइपास गरेको काँग्रेस नेताहरू बताउँछन् ।



नेपाली काँग्रेसमा ०६४ देखि शुरू भएको दुई जना महामन्त्रीको अभ्यासले ०७८ सालसम्म निरन्तरता पाइरहेको छ । १२ औं महाधिवेशनमा प्रकाशमान सिहं पहिलो महामन्त्री बनेका थिए । त्यस्तै १३ औंं महाधिवेशनमा डा शशाङ्कं कोइरालालाई निर्वाचित महामन्त्री बन्ने अवसर प्राप्त भयो । पूर्णबहादुर खड्कालाई सभापति देउवाले महामन्त्रीमा मनोनित गरेका थिए ।

पार्टी विधानको धारा २७ मा महामन्त्रीका १२ वटा काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ । दुईजना महामन्त्रीमा कसले के काम गर्ने भन्ने उल्लेख छैन । तर, १४औं महाधिवेशनसम्म आइपुग्दा काँग्रेसमा दुईजना महामन्त्री निर्वाचन प्रक्रियाबाटै आउने व्यवस्था भयो । गएकोे महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा लोकप्रिय मतका साथ विजयी भए । उनीहरूसँगं सभापति शेरबहादुर देउवाका महामन्त्रीका प्रत्याशी डा प्रकाशशरण महत र प्रदिप पौडेल दुबै पराजित भएका थिए ।

दोस्रो पटक सभापति बनेका देउवासँग डा.शेखर कोइराला प्यानलका थापा र प्रकाशमान सिहं समूहका शर्माको भावी सहकार्यलाई चासोका साथ हेरिँदै आइएको छ । देउवाले आफ्ना कटू आलोचक थापा र विद्रोही शर्मामध्ये कसलाई बढी च्याप्छन् भन्ने चासो सर्बत्र रहेको थियो ।
सभापति देउवाको सुरूवाती झुकाब गगनतिर देखिएको छ । देउवाले दुई महामन्त्रीमध्ये थापालाई एक नम्बर वरियता दिएका छन् । पार्टी प्रवक्ता भइसकेका शर्माका लागि केन्द्रीय समिति प्रवेशको मापदण्ड बनेको देखिन्छ । विद्यार्थी राजनीतिमा गगन थापाभन्दा सिनियर रहेका शर्मालाई पार्टी राजनीतिमा भने थापाले उछिनेका छन् । थापा १२ औं र शर्मा १३ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । गगन थापा वरियतामा मात्र हैन, भूमिकामा पनि अगाडि नै देखिएको पछिल्लो परिदृश्यले देखाउँछ ।

पहिलो वरियता पाएका थापाले १४ औं महाधिवेशनपछि केन्द्रीय समितिको पहिलो बैठकमा एजेण्डा प्रस्तुत गर्ने मौका पाए । यद्यपि महामन्त्री थापा र शर्मा बीचको सहमतिमै आलोपालो एजेण्डा पेश गर्ने कुरा भएको थियो । त्यसैअनुरूप हुँदै आएकोमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा पनि शर्मा पार्टीभित्र र बाहिर भूमिकाविहीन जस्तै देखिएका छन् ।

काँग्रेसले स्थानीय तह निर्वाचनमा परिचालन, घोषणपत्र तयारी, प्रचार प्रसार समिति गठन गरेको छ, जसमा सभापति देउवाले परिचालन समितिको नेतृत्व उपसभाति खडकालाई दिएका छन् । घोषणपत्र तयारी समितिको जिम्मा महामन्त्री थापालाई दिएका छन् । प्रचार प्रसारको नेतृत्व प्रवक्ता डा प्रकाशशरण महतले पाएका छन् तर, शर्माले भने सबै पदाधिकारी समेटिएको खड्का नेतृत्वको समितिमा सदस्यको भूमिका मात्र पाएका छन् ।

 

सम्बन्धित समाचार