सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय (वक्तव्यसहित)

तालमेलको मोडालिटी भोलि तय हुने

सत्ता गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेको हो ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनले आह्वान गरेका छन् ।



त्यस्तै शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेकोले सचेत हुन जरुरी रहेको वक्तव्यमा उल्लेख छ । ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं ।’

त्यस्तै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी तालमेलको मोडालिटीको बारेमा गठबन्धनको भोलि बस्ने बैठकमा छलफल हुने जानकारी दिए । मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने बताए । मन्त्री कार्कीले भने ‘चुनावी तालमेलको मोडालिटी मंगलबार चार बजे बस्ने बैठकले टुङ्गो लगाउँछ ।’

वक्तव्यमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर गरेका छन् ।

यस्तो छ वक्तव्य :

यस्तो छ वक्तव्य :

 

सम्बन्धित समाचार