नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बताएका छन् । देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नर अधिकारीलाई कारबाही गरेको बताएका हुन् ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरअधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको थियो । त्यस्तै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन गरेको थियो ।
छानबिन गर्ने निर्णय गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।
उक्त प्रश्नमा देउवाले अधिकारीले अर्थमन्त्रीलाई असहयोग गरेको भन्दै कारबाही गरेको बताए । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले आफूले गरेका सबै काममा असहयोग गरेको भन्दै गुनासो गरेको देउवाले जानकारी दिए । देउवाले भने ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्यो नि !’ त्यस्तै अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।

