नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (मंगलबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
स्थानीय तह निर्वाचनमा तालमेलको मापदण्ड टुङ्गो लगाउन आज निर्णायक बैठक बस्न लागेको हो । बैठकले निर्वाचनका लागि साँझ उम्मेदवारको मोडालिटीको विषय टुङ्ग्याउने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै मन्त्री कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।
‘गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ’ मन्त्री कार्कीले भने । गठबन्धनमा मोडालिटीबारे यसअघि विभिन्न प्रस्तावमाथि छलफल भएपनि तालमेलको मापदण्डबारे नेताहरुबीच सहमति हुन सकेको छैन ।यसअघि सोमबार बसेको सत्ता गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको थियो । बैठकले संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेको थियो ।

