नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९०० रुपैयाँ रहेकोमा सोमबार रु १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४०० रहेकामा सोमबार प्रतितोला रु ९९ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य सोमबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ३८० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ३६५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५९ डलर आसपास कारोबार भइरहेको छ ।