सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका हुन् । सत्तारुढ गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको छ । बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



त्यस्तै सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ ।

यस्ता छन् गठबन्धनभित्र तालमेलका आधारहरू :

विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने

२०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार

२०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रहेको गठबन्धनमा सहभागिता पनि हेर्ने

२०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत

एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने

सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरूको सङ्गठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने

गठबन्धनमा रहेका दलहरूबीचमा चुनावी तालमेल गर्न पाउने

यस्ता छन् मापदण्ड :
महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने

नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने

सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने

प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ-आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने

सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत गठबन्धन दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार