नवराज घिमिरे
काठमाडौं, ३ वैशाख ।
स्थानीय चुनावको दिन आउन २६/२७ दिन बाँकी रहँदा दलहरू गठबन्धनको चटारोमा देखिन्छन् । पाँच दलीय गठबन्धनको जगबाट बनेको सरकारले तिनै तहको निर्वाचनसम्म तालमेल गरी जाने निर्णय गर्दै चुनावी अभियान शुरू गरिसकेको छ । पाँच दलीय गठबन्धनबाट अत्तिएर अन्य दलहरू पनि गठबन्धनलाई तीव्रता दिन लागिपरेका छन् । नेकपा एमाले, परिवार दल र राप्रपा नेपाललगायतका दलहरूले हालै चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने गरिन्थ्यो, नेपालका दलहरूको पछिल्ला गतिविधिले सो कथनलाई प्रमाणित गरिदिएका छन् । फरक सिद्धान्त, फरक एजेण्डा र फरक वैचारिक धरातल भएका राजनैतिक दलहरू आ–आफ्नो अस्तित्व रक्षाकै लागि जस्तोसुकै सर्तमा सहमति गर्न पनि तयार रहेका देखिएका छन् । नेकपा एमाले र राप्रपा नेपाल र परिवार दलहरूबीचको चुनावी तालमेलको प्रसङ्ग यसको बलियो उदाहरण हो । काँग्रेस र माओवादीबीचको गठबन्धनको निरन्तरता पनि कम रोचक छैन ।
हिजो ०६२÷६३ को जनआन्दोलन दबाउने मुख्य योजनाकारको भूमिका खेलेका चतुर खेलाडी कमल थापा राप्रपाबाट अध्यक्ष पदमा राजेन्द्र लिङ्देनबाट पराजित भएपछि हतास बनेका थिए । सधैँ सत्ता र शक्तिको सेरोफेरोमा रहन रमाउने उनी शक्ति बाहिर हुनुपर्दाको पीडाले अत्तालिएर अण्टसण्ट बर्बराउन थाले । त्यत्तिले पनि मन नबुझेपछि अन्ततः राप्रपा नेपाल पुनः गठन गरे र आफू अध्यक्ष भए । तर आफू उभिएको धरातल कमजोर महसुस गरेर साख जोगाउनकै लागि भए पनि एमालेको सूर्य चिन्हबाट चुनाव लड्न एमालेसँग गठबन्धन गरेका छन् । राजेन्द्र लिङ्देनलाई आफ्नो सामथ्र्य देखाउने लहडमा उनी कति बल्ड्याङ लड्ने हुन् वा एमालेको पुच्छर समाएर अस्तित्वको वैतरणी नदी तर्ने हुन्, परिणाम जान्न चुनावसम्म पर्खनै पर्ला ।
त्यसैगरी परिवार दलका एकनाथ ढकाल (राजनीतिक वृत्तमा जसलाई होली वाइनसँग जोडेर चिन्ने गरिन्छ) पनि एमालेसँग चुनावी तालमेल गरेका छन् । एमालेसँग गठबन्धन गरेकै कारण जमानत जफ्त हुनबाट बँचे भने ढकालको पनि राजनीतिक रूपमा ठूलै उपलब्धि हुने छ ।
तर एमालेको अवस्था सबैभन्दा रोचक छ । सबै दलहरू मिलेर चुनावमा गए पनि आफूलाई हराउन नसक्ने हुङ्कार गर्दै आएका एमाले अध्यक्ष ओली पाँच दलीए गठबन्धनसँग डराएर अन्ततः जनाधार केही नभएका राप्रापा नेपाल र परिवार दलजस्ता साना दलसँग चुनावी गठबन्धन गर्ने अवस्थामा पुगेका छन् । अब कार्यकर्ताले उनको हुङ्कारको रक्षा कसरी गरिदिने हुन् हेर्न बाँकी छ ।
अध्यक्ष ओलीको बेलगाम बोलीको रक्षा गर्ने कि आफ्नो पार्टीको अस्तित्वको रक्षा गर्ने भन्नेमा एमाले कार्यकर्ताहरू पनि द्विविधामा परेका होलान् । थापा र ढकालसँग गरिएको चुनावी गठबन्धनले एमाले कति लाभान्वित होला भनेर पूर्व अनुमान गर्न गाह्रो होला तर एमाले इमान्दार भए थापा र ढकाललाई भने पक्कै पनि लाभ हुने देखिन्छ । यस्तो भू–धरातलीय यथार्थ जान्दाजान्दै पनि आफ्नै हुङ्कारका विरुद्धमा ओलीले किन यस्तो गठबन्धन गरे ? बाघ बूढो भएपछि किथ्रा समाउँछ भन्छन्, कतै त्यही अवस्था आएको त होइन ? यो पनि एउटा सोच्ने विषय हो ।
देश आर्थिक रूपमा यति कमजोर भएको इतिहासमै सायद पहिलो पटक होला । सरकारी ढुकुटी खाली भइसकेको समाचारहरू बाहिरिएका छन् । डलरको संचिति पनि रित्तिँदो अवस्थामा छ । बैंक तथा बित्तीय संस्थाहरू लिक्विडीटी क्राइसिस् झेलिरहेका छन् । निर्यात बढाउन कुनै ठोस योजना छैन । केही (३२ वटा) वस्तुहरू आयातमा रोक लगाइए पनि त्यतिले मात्र वित्तीय सङ्कट टार्न पर्याप्त नहोला । यो अवस्था बढ्दै गए भोलि नेपाल पनि श्रीलङ्काको हालतमा नपुग्ला भन्न सकिन्न । यसरी देशले अव्यवस्थापन र आर्थिक सङ्कट झेलिरहेको बेलामा दलहरू भने आफ्नै स्वार्थ र अस्तित्व रक्षामा लागेका देखिन्छन् । उनीहरूमा देशको चिन्ताभन्दा सत्ताको चिन्ता बढी देखिन्छ ।
देश स्थानीय चुनावको सङ्घारमा उभिएको छ । स्थानीय सरकार बलियो भयो भने मात्र देश बलियो हुने हो । दलका नेताहरू एजेण्डाविहीन छन् । अतः उनीहरू आफ्नो अकर्मण्यतालाई लुकाउन एकले अर्कोलाई गाली गर्दैछन् । गाली कुनै राजनीतिक एजेण्डा होइन ।
नेताहरूले बाटो बिराए त्यसलाई सच्याउने कार्य मतदानको माध्यमद्वारा जनताले गर्ने हो । नेपाली जनताले फेरि एकपल्ट त्यो अवसर पाउँदै छन् । आफ्नो अमूल्य मतलाई कुनै पनि मूल्यमा नबेचौं । आवेगले दुर्घटना निम्त्याउन सक्छ भने आज गरेको एउटा सही निर्णयले मुलुकको भाग्य र भविष्य बदलिन सक्छ । त्यसैले नेताहरूले आफ्नो स्थार्थ रक्षाका लागि जोजोसँग गठबन्धन गरे पनि चुनाव चिन्हका आधारमा होइन, असल व्यक्ति छानेर आफ्नो अमूल्य मतको रक्षा गर्न सकौं । यो सल्लाह मात्र होइन, आव्हान पनि हो ।