नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुक बहादुर सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-११ इन्द्रावती खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । यता कैलाली, गोदावरी नगरपालिका-५ गेटा बारबाटास्थित सडकको नालीमा सोही गाउँपालिका नहरटोल डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-४ घर भएका ४५ वर्षीय राजेन्द्र बहादुर पाण्डे शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रामेछाप, मन्थली नगरपालिका-१ मन्थलीघाटस्थित तामाकोशी नदी किनारमा हाटेचौर बस्ने ३२ वर्षीय टिका बहादुर माझी शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ दहीझोडा बस्ने मनु चेम्जोङकी छोरी ४ वर्षीया सचिना चेम्जोङ आफ्नै घरबाट करिब ३ सय मिटर टाढा पानीको पैनीमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

