पल शाह प्रकरण : नाबालिगले बयान फेरेपछि…

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । आइतबार तनहुँ अदालतमा भएको बकपत्रमा नाबालिगले बयान फेरेकी हुन् ।

पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । जबरजस्ती करणीको अभियोगमा थुनछेक बहसपछि जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आइतबार पीडित र साक्षीको बकपत्र लिएको छ ।



गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ ।

यसअघि नाबालिकाले आफूलाई जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् ।

अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको आरोप लागेको छ । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार