नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ वैशाख ।

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
बैठक आजै साँझ बस्नेगरी स्थगित भएको छ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक स्थगित भएको हो । यद्यपि बैठकमा चुनावी तालमेलका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । आज सत्तारुढ गठबन्धनका नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।
आजको बैठक महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा टुंगो लगाउने निर्णयबारे छलफल गर्न बसेको थियो । यसअघि हिजो (आइतबार)पहिलो चरणमा महानगर उपमहानगरको टुंगो आज सम्म लगाउने सहमति भएको थियो । महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति यसअघि नै सत्तारुढ गठबन्धन गरिसकेको थियो । देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ-आफ्नै दाबी भएका कारण सहमति जुट्न सकेको छैन ।

