नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रम अध्यक्ष माधवकुमार नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
चुनावी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं, एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको लगायतका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै घोषणा पत्रमा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने, वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम कार्यान्वयनमा ल्याइएको समेत उल्लेख गरिएको छ ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक रहेको बताएको छ । ‘जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ। मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ’ घोषणा पत्रमा भनिएको छ ।
यस्तो छ चुनावी घोषणापत्र

