नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । आज(बुधबार) देखि काममा फर्किएका हुन् । हिजो (मंगलबार) सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारीलाई काममा फर्कने बाटो खुलेको थियो ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ । गभर्नर अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए ।
सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको भन्दै गभर्नर अधिकारीले सर्वोच्चले अन्तिम फैसलामा पनि न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको थियो । राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।