नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।

अन्तत : स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डामा सहमति जुटाएको छ । आज(बुधबार) प्रधानमन्त्री निवासमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डामा सहमति जुटाएको हो ।
आज प्रधनमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा लिखित सहमति नै भएको हो ।
सहमति अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख पद लिँदा वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उपप्रमुख पद लिनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुख र ललितपुरको उपप्रमुखको पद पाउनेछ भने नेकपा एकीकृत समाजवादीले पाेखरा महानगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाको उपप्रमुख र जनता समाजवादी पार्टीले वीरगञ्जको प्रमुख र विराटनगरको उपप्रमुख पद पाउनेछ ।
त्यसैगरी नेपाली काँग्रेसले उपमहानगरपालिकातर्फ धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुख पाउनेछ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुख पद पाउनेछ । यस्तै जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख पद लिँदा धरान र धनगढीमा भने उप्रमुख पद लिनेछ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिँदा इटहरी, बुटवल र तुलसीपुरमा भने उपप्रमुख पद लिनेछ भने जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको प्रमुख र कलैया र नेपालगञ्जमा उप्रमुख पद पाउनेछ । सहमति पत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । त्यसैगरी, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ ।
सूची

