गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बैठकले गर्यो यस्तो निर्णय

संयुक्त चुनावी सभा गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरुले सातवटै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले गठबन्धनका शीर्ष नेताहरुले सातै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको छ । चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने माओवादी नेता देव गुरुङले बताए । नेता गुरुङले बैठकले सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय गरेको जानकारी दिए ।



‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुन्छ । हामीले १८ देखि २२ गतेसम्म गठबन्धनको तर्फबाट संयुक्त चुनावी सभाहरू गर्ने निर्णय गरेका छौँ,’ नेता गुरुङले भने । यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगर भागबण्डामा सहमति जुटाएको थियो ।

यस्तो छ आमसभाको कार्यक्रम तालिका :
सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, वैशाख १८ गते
लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, वैशाख १९ गते
मधेशको जनकपुर र प्रदेश १ को विराटनगर, वैशाख २० गते
बागमतीको काठमाडौंमा, वैशाख २२ गते

 

सम्बन्धित समाचार