नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् । आज (बिहीबार) केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले ७४ मा भएको निर्वाचनमा आफूहरु सरकारमा नरहे पनि परिम राम्रो ल्याएको दावी गरे । उनले अबको निर्वाचनमा बहुमत ल्याउने भन्दै विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए । ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । एमालेलाई मात्रै, अरुलाई स्वागत गर्दैन । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ‘ ओलीले भने ।
त्यस्तै उनले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको टिप्पणी गरेका छन् । ‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’ ओलीले भने । ओलीले आफूविरुद्ध १९ पृष्ठ लामो अभियोगपत्र पनि अगाडी बढाएको आरोप लगाए । ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौ । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ’, अध्यक्ष ओलीको भनाइ छ ।
यसैगरी उनले प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध भुलेर पनि नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । ओलीले भने, ‘वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो ।’