महानगर र उपमहानगरमा सहमति भए पनि उम्मेद्वार छान्न गठबन्धन दलहरूलाई सकस

अन्ततः लामो रस्साकस्सीपछि स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डामा सहमति जुटाएको छ । हालै प्रधानमन्त्री निवासमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डामा सहमति जुटाएको हो । प्रधनमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पदमा चुनावी तालमेल गर्ने लिखित सहमति भएको हो ।

सिट बाँडफाटमा असन्तुष्टि
त्यस्तै सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाहरूमा सिट बाँडफाटको टुंगो लगाए पनि गठबन्धनभित्र नै यस विषयमा असन्तुष्टि पैदा भएको छ । जनकपुरधाम र विराटनगर उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाललाई दिएको भन्दै काँग्रेस नेताहरु नै यसको विरोधमा उत्रिएका छन् । काँग्रेसले भरतपुर महानगरपालिकामा माओवादीलाई नसघाउने पनि घोषणा गरिसकेको छ । यसैगरी गठबन्धनमा आवद्ध अन्य दलहरूले पनि सिट बाँडफाटको विषयलाई लिएर असन्तुष्टि जनाएका छन्।



उम्मेद्वार छान्न सकस
सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भए पनि गठबन्धन मेयर र उपमेयरमा कसलाई उम्मेदवारी दिने भन्नेमा सकस परेको छ । पाँचदलीय गठबन्धनबीच उम्मेदवार चयन गर्ने विषयमा मतभेद आएको देखिएको छ । उता अन्य राजनीतिक दलले मेयर र उपमेयरमा उम्मेदवारी दिएको घोषणा गरिरहँदा सरकारमा रहेको गठबन्धनबीच आफूले पाएको महानगर र उपमहानगरपालिका मेयर र उपमेयरको उम्मेद्वारी छनोट गर्न लगातार बैठक बसिरहेका छन्। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गर्न सकेका छैन। पुरानैलाई निरन्तरता दिने या नयाँ उम्मेदवार उठाउने विषयमा गठबन्ध आवद्ध दलहरु छलफलमा जुटिरहेका छन् ।

यस्तो छ गठबन्धनको भागवण्डा
स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागवण्डामा सहमति जुटाएको छ । सहमति अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख पद लिँदा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपप्रमुख पद लिनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुख र ललितपुरको उपप्रमुखको पद पाउनेछ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाको उपप्रमुख र जनता समाजवादी पार्टी वीरगञ्जको प्रमुख र विराटनगरको उपप्रमुख पद पाउने छ ।

त्यसैगरी नेपाली काँग्रेसले उपमहानगरपालिकातर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुख पाउने भएको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुख पद पाउने छ । यस्तै जितपुर, सिमरा र घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख पद पाउँदा धरान र धनगढीमा भने उप्रमुख पद पाउने छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पाउने हुँदा इटहरी, बुटवल र तुल्सीपुरमा भने उपप्रमुख पद पाउने छ । जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको प्रमुख र कलैया र नेपालगञ्जमा उपप्रमुख पद पाउने छ । सहमति पत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडलले हस्ताक्षर गरेका छन् । त्यसैगरी, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ ।

सम्बन्धित समाचार