नवकान्तिपुर संवाददाता
काठमाडौं, १० वैशाख ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेका हुन् । भेटमा बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ ।
त्यस्तै भेटमा नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । यस्तै भेटमा जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा पनि छलफल भएको थियो । आजै परराष्टमन्त्री डा नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।
दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । अमेरिकी सांसदको यो भ्रमणले दुई देशबीच संसदीय फाँटमा समेत आपसी सम्बन्ध सुमधुर तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।