गठबन्धनमा भएको सिट बाँडफाँटप्रति यसो भने माधव नेपालले

सत्ता गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भागबण्डाको जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको बताए । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।



महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिपोर्टले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो । ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन ‘ देशैभरि पार्टीको सञ्जाल छ, त्यसैले न्यूनतम उपस्थिति हुनैपर्छ भनिएको थियो’ उनले भने । त्यस्तै अध्यक्ष नेपालले मनोनयन २ दिन राखिनुमा पनि षड्यन्त्र रहेको दाबी गरे । उनले भने, ‘भोलि नोमिनेसन फाइल गर्न दुई दिन किन राखेको छ ? त्यहाँ पनि मलाई लाग्छ कुनै षड्यन्त्र होला ।’

सम्बन्धित समाचार