काठमाडौँ मेयर र उपमेयरको लागि कतिको पर्यो उम्मेदवारी ?

काठमाडौँ महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । मेयर पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । मेयर पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् ।

उपमेयरमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका हुन् । उम्मेदवारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।



मनोनयनको पहिलो दिन ११ गते मेयरका लागि १६ ले र उपमेयरका लागि १७ जनाले उम्मेदवारी दिएका थिए। काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौँ जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जसमा मेयरका लागि १२५ र उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

सम्बन्धित समाचार