नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई सेन्टर रहेको बताएका छन् । आज (मंगलबार) मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावमा घोषणापत्र बनाउन नसक्ने पनि पार्टी हुन्छ भन्दै माओवादी केन्द्रको आलोचना गरेका हुन् ।
माओवादीको अब ढाँट्ने कुरा बाँकी नरहेकोले चुनावी घोषणापत्र नै ल्याउन नसकेको टिप्पणी गरे । ओलीले भने ‘हुन त त्यो पार्टी होइन केन्द्र हो । त्यस्ता सेन्टरहरु विभिन्नले खोलेका छन् । माओवादी पार्टी होइन, माओवादी सेन्टर हो । त्यसले चुनावी घोषणा पत्र नै निकालेन । माओवादीको चुनावी घोषणा पत्र छैन । कांग्रेसले निकालेकै छ, भइगो नि भन्यो ।’
उनले आफ्ना विपक्षी दलहरूसँग विकासका कुनै ठोस एजेण्डा नभएकोले नै एमाले नेतृत्वको सरकारले गरेका विकासको विरोध गरिरहेको बताउए । अध्यक्ष ओलीले सत्ता गठबन्धनका दलहरूले जारी गरेको चुनावी घोषणा पत्र गालीको पुलिन्दा मात्र भएको पनि आरोप लगाए । त्यस्तै उनले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभई पागलहरूको प्रलाप रहेको बताए । ‘पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो । एमालेका डरले काँग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्दान्तिक, न वैचारिक हो ’ ओलीले भने ।