नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरण प्रक्रियाको विषयमा अध्ययन, अनुसन्धान र समीक्षा गर्ने बताएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै कोइरालाले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भएको बताएका हुन् ।
काङ्ग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट वितरण कार्य सहज नभएको उल्लेख गर्दै नेता कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेबारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा आवाज उठाएको बताएका छन् ।
त्यस्तै उनले पार्टीका नेता, कार्यकर्ता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् । निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उनले उल्लेख गरेका छन् ।
‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी काँग्रेसको विजयी अभियानमा होमिने छौँ । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु, कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ‘जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै कोइरालाले आफूसँग असहमत भएकै कारण कैयन कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको आरोप लगाएका छन् । ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्’ विज्ञप्तिमा उल्लेख छ ।
नेता कोइरालाले टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र आफ्नो पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई काँग्रेसको मूल प्रवाहमा फर्कनसमेत आग्रह गरेका छन् ।
विज्ञप्ति