विप्लवद्वारा वली र बास्तोला पदमुक्त (विज्ञप्तिसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेको छ । आज (बुधबार) पार्टीले एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय सदस्यद्वयलाई पदमुक्त गरेको जानकारी दिएको हो ।

आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरूलाई जिम्मेवारीबाट पदमुक्त गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै सदस्यद्वयलाई पार्टीबाट निष्कासन गरेको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



‘ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको विप्लवले भनेका छन् । ‘तर निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो’, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार