नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु कुनै नौलो कुरो नभएको बताएका छन् । आज (बुधबार) पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने ‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो । यो कुनै नयाँ कुरा भएन ।’ मंगलवार एमाले अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र ‘पागलहरुको प्रलाप’ भनेका थिए । ओलीले आफ्नो झुटलाई चुनौती दिने व्यक्तिहरूलाई ‘पागल’ भन्ने गरेको भन्दै महामन्त्री थापाले ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र डा.गोविन्द केसीलाई पनि पागल भनेको बताए ।
थापाले ओली सनक्क सन्किसकेपछि भन्ने शब्द नै पागल हो भन्ने जिकिर गरे । थापाले भने ‘‘तपाईंलाई थाहा छ उहाँले पागल कसलाई भन्नुहुन्छ ? झुटलाई कसैले च्यालेञ्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो, सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो ।’
त्यस्तै थापाले थापाले ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरे । ‘उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन,’ थापाले भने । ओलीले आफ्नो आइडियो चोरेको आरोप लगाएको भन्दै थापाले भने, ‘मेरो आइडियो चोर्यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।’