भरतपुरका बागी उम्मेदवार पौडेलद्धारा गृहमन्त्री खाँणले गरेको आग्रह अस्वीकार

गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नथ पौडेलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) गृहमन्त्री खाँण र पौडेलबीच भेटवार्ता भएको हो ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए । भेटमा गृहमन्त्री खाँणले पौडेललाई उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका छन् । तर, काँग्रेस नेता पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नलिने घोषणा गरेका छन् । पौडेलले उम्मेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।



उनले भने, ‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन । परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् ।’ गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराए ।

उनले भने, ‘गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उहाँहरुको भविष्यसँग जोडिएको विषय छ । यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।’ पौडलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने,’पार्टीले विशष परिस्थितिमा गठबन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले विशेष आग्रह गरेका छौँ ।’

पौडेललाई भेट्नु अघि गृहमन्त्री खाँणले प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि भेटवार्ता गरेका थिए । छलफलका क्रममा गृहमन्त्री खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी भएका थिए ।

सम्बन्धित समाचार