नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मेयरमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहलाई गणेशमानको बुहारी र प्रकाशमानको श्रीमतीका रुपमा मात्र हेर्न नहुने बताएका छन् । ‘सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्’, महामन्त्री थापाले भने ।
थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताउनुभएको छ । उनले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिए । काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भिडभाड कम गर्न फुटपाथको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौँका जनताले राहत पाउने बताए । महामन्त्री थापाले काठमाडौँको मेयरमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरे ।